15 May 2020

सांस्कृतिक विविधता संरक्षणको लागि मातृभाषामा शिक्षा

सांस्कृतिक विविधता संरक्षणको लागि मातृभाषामा शिक्षा


अमित तामाङ

२०७७ वैशाख २८

 

सारा विश्व कोरोनाभाइरस विरुद्ध लडिरहँदा सङ्घीय संसद्को बजेट अधिवेशनमा जुटेको नेपाल सरकार लकडाउनकै दौरान विवादको अर्को खाडलमा फसेको छ। यो शैक्षिक सत्रबाट कक्षा देखि नै संस्कृत भाषाको पठनपाठन सुरु गरिने समाचार आए सँगै नेपाल आदिवासी जनजाति महासंघले यस 'विभेदकारी कदम'लाई फिर्ता नगरे सबै मातृभाषीहरुले 'कडा कदम' चाल्न सक्ने चेतावनी दिएको छ।

यहि क्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले संस्कृत विषयमा अनिवार्य पठनपाठन गराउने काम नगर्न सरकारको ध्यानकर्षण गराएको छ। सामाजिक संजालमा पनि यसबारेको बहस सुरु भैसकेको छ। यससँगै मातृभाषाको सवाल पुन सतहमा आएको छ। स्वभाविकै, विश्लेषणको आधार र कोणहरु भने समान छैनन्।            

'सिन्क्रोनिक' हिसाबले हेर्ने हो भने पनि अहिलेको अवस्थामा  ‘संस्कृत’ राष्ट्रिय आवश्यकता हो त् ? अनिवार्य 'संस्कृत' लाई आदिवासी जनजातीले मात्र नरुचाएका हुन् कि यसमा अन्य जात समुदायको पनि विमती ? मातृभाषा संरक्षणले राष्ट्रलाई के हानी पुग्छ ? बहुभाषिकताको जगेर्नाले देशको सांस्कृतिक विविधता चुलिन्छ कि कोही कसैको मानमा आँच आउँछ ? कुनै समुदाय वा व्यक्तिले नेपाली भाषा बोल्न नजान्दैमा वा आफ्नो मातृभाषा बोल्दैमा सो व्यक्ति नेपाली नकहलिने हो? अनि, संस्कृतले कस्तो 'नेपालीपन' को संरक्षण गर्छ यसले के फाइदा पुर्याउंछ ?

लकडाउनले गर्दा स्थगन भएको एसइइ र १०+२ को परीक्षा कसरी सन्चालन गर्ने र नयाँ शैक्षिक सत्र अन्तर्गतको पठनपाठनलाई कसरी सुचारु गर्ने सवालमा जोड दिनुपर्ने समयमा यस्ता मुद्धामा बहस गर्नुपर्दा यो भन्दा दुखको अवस्था अरु के हुनसक्ला?

यस्तो स्थिति व्युंतिरहनुमा विशेषत दुईवटा पक्षहरु जिम्मेवार छन्। पहिलो, सत्ता भित्र वा बाहिर जहाँ रहेपनि दलहरुले आदिवासी जनजाती र अल्पसंख्यक प्रति संक्रिण भाव बोक्नु र राष्ट्रिय प्राथमिकता चयन गर्न चुक्नु । दोस्रो, नागरिक तहमा पनि सामाजिक सांस्कृतिक मुद्दाहरुलाई पक्षपाती हिसाबले अर्थ्याईनु वा मानवशास्त्री ब्रोनिस्ल मालिनोस्कीको शब्दमा सांस्कृतिक समुहको जीवन पद्धतीलाई उनीहरुकै दृस्टीकोणबाट मनन गर्न नसक्नु।        

शिक्षामा राष्ट्रिय प्राथमिकता चयनको सन्दर्भमा, ‘संस्कृत' अध्ययनको सवाल सरकारको वर्तमान शिक्षा नीतिसँग मेल खाने प्रकृतिको कतै छैन। सामुदायिक विद्यालय स्वंयले अंग्रेजी माध्यमको पठन पाठनलाई संथागत गर्ने प्रयास गरिरहेको सन्दर्भमा सरकारको यो कदम  दिग्भ्रमित, अदुरदर्शी  र दर्शन वा सिद्धान्त रहित रहेको छर्लङ्ग छ । हुन त अंग्रेजी माध्यम भित्र पनि धेरै समस्या र सवालहरु छन्।      

विश्व वजारमा नेपालीहरुलाई प्रतिस्पर्धामा उतार्न अंग्रेजी माध्यमको आवश्यकता छ भनिए पनि, निजी विद्यालयसँग गुमाएको विद्यार्थी सङख्यालाई फिर्ता ल्याउनकै लागि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको विकल्प रखिएको हो। यसमा दुई मत छैन। अंग्रेजी माध्यमको शिक्षा लागु भए सँगै सामुदायिक विद्यालयमा पनि वर्गमा आधारित सामाजिक विभाजन स्थापित भएको छ। नेपाली माध्यमका विद्यार्थीले आर्थिक क्षमता र बौद्धिक स्तरको आधारमा हिनताबोध महशुस गर्दा निम्तिने समस्याप्रति ध्यानाकर्षण भएको छैन।

राणाकाल देखि 'लोकतन्त्र' सम्म आइपुग्दा नेपालको शिक्षा क्षेत्रमा सहि अर्थको समानता र समावेशीकरणको नीति अवलम्बन भएको भेटिदैन। मातृभाषामा पठनपाठन गर्ने सवाल पनि यहि भुमरीमा विलिन हुनपुगेको छ। दुर्भाग्य त्, द्वन्दकालमा परिवर्तन समानताको वाधक ठानेर संस्कृत भाषाको अध्यापन बन्द गराएको पुर्व माओवादी अहिले पुर्व एमाले सँग मिलेर नयाँ दल नेकपाको रुपमा सरकारमा रहेको बेला यस्तो नीति आएको छ।

मातृभाषामा अध्ययन गर्ने सहज वातावरणको माग गरिरहेका आदिवासी जनजातीलाई मात्र नभई हरेक विद्यार्थीलाई संस्कृत शिक्षाले प्रतक्ष्य असर पार्नेछ। चर्चा मातृभाषीको गरौँ। बसाईसराइबाट मिश्रित समाजमा बस्न गएका बाहेक आफ्नै थातथलोमा बस्दै आएका जनजातीले रैथाने भाषा नै बोल्छन। यी गाउँहरुमा भाषा भुलेका नयाँ पुस्ताहरु पुगे भने सोहि भाषिक समुहको पनि हो कि होइन भनेर ठट्टा गर्ने गर्छन स्थानीयहरु।

करिब ५ महिना अघिको घटना हो, काभ्रेको एउटा तामाङ गाउँमा एक पाको महिलासँग लप्सी टिप्न अनुमति माग्दा, उहाँले नातीलाई सघाउन अराउनु भयो। उहाँको नातीले 'लप्सी' चिन्दैन रहेछ, उनको लागि त्यो 'कलङ ची' रहेछ। केहि वर्ष अघि, मकवानपुरको एउटा तामाङ गाउँमा पनि यस्तै घटना घटेको थियो। कुनै एउटा रुखको विषयमा मेरो श्रीमती दुई जना तामाङ महिलासँग गफ गर्दै गर्दा, एक जना महिलाले  सो रुखलाई सानै देखि आफ्नै रैथाने भाषामा चिन्दै आउनुभएकोले कुन रुखको कुरा गरेको हो बुझ्नुभएनछ ।

हालसालैको अर्को अनुभव, एउटा शोधको क्रममा म एक पाको चेपाङ पुरुषसँग सम्बाद गर्दै थिए; कुरैकुरामा उहाँले आफ्नै भाषामा उखान भनि पठाउनुभयो। उहाँले आफ्नै भाषामा उखान प्रयोग नगरेको भए जुन भाव र अर्थ अभिव्यक्त गर्न खोज्नुभएको थियो सो सम्भव थिएन।

मानवशास्त्रको विधार्थीको हैसियतले विभिन्न समुदायहरुमा जाँदा अझै पनि नेपाली भाषा बोल्न नसक्ने व्यक्तिहरु भेट्ने गर्छु। हामीले अवमुल्यन गरेको यो स्पष्ट परिदृश्यले नै पुस्टि गर्छ कि मातृभाषामा अध्ययन गराइनु अपरिहार्य छ। कतिपय समुदाय जहाँ राज्यको प्रायोजनको कारणले रैथाने भाषा मर्दैछ, यस्ता ठाउँमा पनि स्थिति बिग्रेको छैन किनकी यहाँका किशोर किशोरीले भलै राम्रो सम्बाद गर्न नसकोस् आफ्नो भाषा भने बुझ्दछन। भाषाको विविधता ज्ञानको भण्डार भएको हुँदा, बुझ्दैनन् भने पनि बुझाउनु पर्दछ ।

शिक्षाको उद्धेश्य ज्ञानको सम्प्रेषण र साटासाट गर्नु हो। यस क्रममा भाषा वाधक रुपमा आउन हुन्न। शिक्षणमा,  विद्यार्थीलाई स्पष्ट तरिकाले बुझाउन सक्ने शिक्षकलाई सफल मानिन्छ। नेपाल सानो मुलुक हो, र विद्यालयमा मिश्रित भाषाका विद्यार्थी आउने तर्क प्रस्तुत गरेर मातृभाषाको प्रयोगलाई निरुत्साहित गर्ने व्यक्ति वा समुदायले बुझ्नु पर्ने यो छ कि - केहि सङ्ख्यामा रहेका अन्य जातीका व्यक्तिले रैथाने भाषालाई बुझ्ने मात्र होइन दैनिक अन्तरकृयामा प्रयोग पनि गर्दछन। जस्तै, तामाङ बाहुल्यता रहेको गाउँमा रहेको विद्यालयमा आउने  थोरै सङ्ख्यामा रहेका नेवार वा ब्राह्मण विद्यार्थीले   तामाङ सरह नै तामाङ भाषाको प्रयोग गर्दछन। सांस्कृतिक सम्पर्कको यो नियम विश्वभरिका मानव समुहहरुमा लागु हुन्छ।

एक भन्दा बेसी भाषा बोल्न सक्नु पक्कै पनि राम्रो कुरा हो। कतिपय व्यक्तिहरु संयुक्त राष्ट्र संघको ६ वटै आधिकारिक भाषाहरुमा दख्खलता हासिल गर्ने प्रयत्न पनि गर्छन। धेरै मुलुकहरुले विद्यालय शिक्षामा  आफ्नो भाषा र  अंग्रेजी पछि अर्को एउटा भाषालाई छनौटको बिषयको रुपमा राख्ने गर्छन।  ‘संस्कृत’ सिक्नु र जान्नु आफैमा गलत होइन तर नेपालले शिक्षामा जुन नीति र उद्धेश्य लिएको छ त्यसको प्राप्तिको लागि ‘संस्कृत' लाई अनिवार्य गर्नु घातक हुनजान्छ। अर्कोतर्फ यसले नेपाली समाजको बहुभाषिक गुण र अस्तित्वलाई धोस्त पार्दै भाषासँग जोडिएको ज्ञान, अनुभव, कला र संस्कृतिलाई मार्दछ। फलस्वरूप सांस्कृतिक विविधताको च्यादर मक्किएर खोक्रो आडम्बरमा खुम्चिन पुग्छ ।

भाषा एक गतिशील र परिवर्तनीय संरचना हो। तसर्थ भाषाको 'प्रिस्टिन' स्वरुपको स्थायित्व परिकल्पना मात्र हो। धेरै भाषाहरुको उत्पतिको श्रोतको रुपमा ‘संस्कृत' लाई संरक्षण गर्ने प्रयास गरेको हो भने पनि भाषाको गतिशीलता र उपादेयताको आधारमा यो निरर्थक सावित हुनेछ।  

जुनसुकै भाषी भए पनि आजको दिनमा नेपालीहरुले अंग्रेजी संगसंगै कोरियाली, जापानी, चिनिया आदि भाषाहरु बोल्न र लेख्न जान्नुपर्ने खाँचो रहेको जगजाहेर छ। भाषाको उपादेयताको दृष्टिकोणले पनि मातृभाषालाई प्राथमिकतामा राख्नु फाइदाजनक देखिन्छ। यसले नेपालको विविधतालाई जोगाउन र  'अनेकतामा एकता'को  प्रतिष्ठालाई अटल राख्न पनि मद्दत गर्दछ। भाषिक मानवशास्त्री लुइसा माफी तर्क गर्छिन कि जीवनको विविधता भाषिक, सांस्कृतिक र जैविक विविधतामा प्रस्फुटित भएको हुन्छ।  सामाजिक समस्या हल गर्न पनि सांस्कृतिक 'मोडल' (स्वरूप) को विविधता प्रभावकारी रहन्छ। तसर्थ, विविधताको संरक्षणमा जोड दिनुको विकल्प छैन। सबै दल, नेता तथा नागरिकहरुले बुझ्नु आवश्यक छ कि मातृभाषामा जोड दिनु भनेको नेपाली भाषाको विरोधी हुनु होइन। यसको उद्धेश्य हाम्रो भाषिक, सांस्कृतिक र जैविक विविधतालाई जोगाऔं र फरक धर्म, संस्कार र संकृतिलाई सम्बन्धित समुदायको दृष्टिकोणबाट हेरेर सम्मान गर्न सिकौं भन्ने हो। 

No comments:

Post a Comment